कोटिभीटीको मुद्धा सल्टाउन राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिए


काठमाण्डु – राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको विभागको महानिर्देशक रहेका नवराज ढुंगानालाई हटाएर पर्यटन मन्त्रालयमा रहेका बुढालाई ल्याइएको हो । ढुंगानालाई कलकत्ताको महावाणिज्य दूत बनाएर पठाउने सरकारको तयारी छ ।

बुढा माओवादी निकट कर्मचारी हुन् । उनि माओवादीले सम्हालेका मन्त्रालयमा लाभको पदमा बस्दै आएका छन् । तर बुढाको कार्यसम्पादनमा भने प्रश्न उठ्ने गरेको छ । राजस्व अनुसन्धान विभागले कोटिभीटी कम्पनीको राजस्व चुहावट सम्बन्धी मुद्दामा मुद्दा दायर गरेपछि ढुंगानालाई हटाउन चलखेल थियो । विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुन उनिसंग असन्तुष्ट थिए ।

कोटिभिटीको मुद्दामा नेपालस्थित अमेरिकी राजदूतावासले समेत चांसो राखेको थियो । विभागले अमेरिकी कम्पनी कोटिभिटीले १० अर्ब ३६ करोड रुपैयां कर छलेको भन्दै कर तिर्न भनेको थियो । तर, विभागले कर ऐनको गलत व्याख्या गरेर मुद्दा दायर गरेको भन्दै सबैतिर विरोध भएको थियो ।

महानिर्देशक ढुंगाना र नयां महानिर्देशक बुढा दुवै जना माओवादी निकट हुन् । बुढालाई अर्थमन्त्रालयको खासै अनुभव नभएको बताइन्छ । बुढालाई यही मुद्दामा सहजिकरण गर्न राजस्व अनुसन्धान विभागमा ल्याइएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement