सर्वाेच्चले भन्याे-एनसेल र एक्जियटाबाटै लाभकर उठाउनू


काठमाडाैं– एनसेलबाट लाभकर उठाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच जना न्यायाधीशको बृहत पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको छ । गत बिहीबारबाट शुरु भएको बहसमा अदालतले दुवै पक्षको कुरा सुनिसकेपछि उक्त फैसला गरेको हो ।

निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । यस्तै, विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि मङ्गलवारै बहस सुरु गरेका थिए ।

निवेदक ढुङ्गेल एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा बहस गरेका थिए । एनसेलका तर्फबाट कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए ।

स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । उक्त किनबेचमा नेपालले लाभकर उठाउन सकिरहेको थिएन ।

अर्थमन्त्रालयले एनसेल खरिदविक्रीमा ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको जानकारी गत मंसिर २१ गते संसदको सार्वजनिक लेखा समितिलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement