सर्वाेच्चको प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सिफारिस

सर्वाेच्चको प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक परिषद्ले सर्वाेच्च अदालतको प्रधानान्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।

निवर्तमान प्रधानन्याधीश प्रकाशमान सिंह राउत चैत १८ गतेदेखि अवकाशमा गएपछि रिक्त प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद् बैठकले बिहीबार शर्माको नाम सिफारिस गरेको हो ।

शर्मा सर्वाेच्चमा हाल चौथो वरियतामा रहेका छन् । वरिष्ठतम् न्यायाधीशहरू कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको छ ।

राउतको अवकाशपछि सर्वाेच्चको कायममुकायम प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कार्यरत छिन् । मल्ल २०७३ साउन १७ गतेदेखि सर्वाेच्च अदालतको न्यायाधीशको रूपमा कार्यरत छिन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०८३ जारी भएपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गरेको हो । अब संसदीय सुनुवाइ लगायत प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुनेछ ।