इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् ।

काठमाण्डु जिल्ला अदालतले स्मार्ट सेलको धितो लिलामसम्बन्धी मुद्दामा पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो । बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि भएको सुनुवाइमा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न गत जेठ ६ गते आदेश दिएपछि उनी थुनामुक्त भएका थिए । पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै परिवारले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

बन्दीप्रत्यक्षीकरणमार्फत रिहा भएका पाण्डेविरुद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दाको थुनछेक बहसपछि अदालतले उनलाई जेलबाहिर नै बसेर मुद्दा लड्न सक्ने सुविधा दिएको छ ।

स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वत: रद्द भएकोमा कम्पनीको सम्पत्ति सरकारको अनुमति विना मिलेमतोमा बिक्री गरेर कर्जा असुल गरेको आरोप उनीमाथि छ । उनीविरुद्ध सरकारले ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो ।