गाँजा कारोबार मुद्दामा गाउँपालिका अध्यक्ष उच्च अदालतबाट पनि दोषी ठहर


काठमाण्डु – बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजा कारोबार मुद्दामा दोषी ठहर भएका छन् ।

उच्च अदालत पोखरा बाग्लुङ इजलासले अध्यक्ष घर्तीलाई दोषी ठहर गरेको हो ।

यसअघि जिल्ला अदालत बाग्लुङले पनि उनलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध गाउँपालिका प्रमुख उच्च अदालत पुगेका थिए ।

उच्चले उनको मागलाई अस्वीकार गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ । न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको छ ।

जिल्ला अदालतले घर्तीलाई २०७९ पुस ३ गते दोषी ठहर गरेको थियो । जिल्ला अदालतले साढे ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । गाउँपालिका अध्यक्ष घर्ती २०७७ असार १२ गते गाँजासहित पक्राउ परेका थिए ।

बाग्लुङको बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा घर्तीसम्म अनुसन्धानको टोली पुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बाग्लुङमा लागूऔषध गाँजा र चरेश नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

मुद्दा पुर्पक्षका क्रममा उनी धरौटीमा छुटेका थिए । मुद्दा विचाराधीन अवस्थामा छँदै घर्ती स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement