सुदूरपश्चिमका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेश गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै उनले आईतबार रिट दायर गरेका थिए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न वैशाख २ गतेसम्म समय दिएका थिए ।

नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित वैशाख २ गते दाबी पेश गरेका थिए । नाउपा लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीलाई अस्वीकार गर्दै फेरि २ दिनको समय दिएर सरकार बनाउन दाबी गर्न आह्वान गरेका थिए ।

दोस्रो चरणमा सोडारीले एमाले, माओवादी, नाउपाको रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई वैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको नियुक्तिविरुद्ध रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement