पूर्व सभामुख सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु


काठमाण्डु – पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको मुद्दामा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ सुरु भएको हो ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ थालिएको छ ।

सापकोटाको विपक्षमा अधिवक्ता ओमप्रकाश अर्याल, ज्ञानेन्द्र आरण, काशीराम ढुंगाना, वरिष्ठ अधिवक्ता बाबुराम गिरी र लक्ष्मी पोखरेल लगायतले रिट निवेदक पूर्णिमाया लामाको तर्फबाट बहस गरेका छन् ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement