काठमाण्डु उपत्यकाका अस्पतालमा कोरोनाका बिरामी भरिए,लकडाउन गर्न सुझाव

काठमाण्डु उपत्यकाका अस्पतालमा कोरोनाका बिरामी भरिए,लकडाउन गर्न सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ।

अस्पतालमा तीन/चार दिनदेखि नै आइसियु र अन्य शयया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए। अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शयया कोभिड उपचारका लागि छुट्याइएको छ। बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए।

वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शयया भरिन थालेको जनाएको छ। वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ। सबै शयया भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए।-यो समाचार आजको नागरिक दैनिकमा छ ।