काठमाण्डु – नेकपा (एमाले)ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ ।
एमाले महासचिव इश्वर पोखरेलले कार्यदलका संयोजक डा. भीष्म अधिकारीलाई पत्र पठाउँदै कार्यदलबाट फिर्ता बोलाएका हुन् ।
कार्यदलको कामकारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको तथा बहसमा ल्याइएका केही विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको भन्दै सरकारसँग आफ्नो धारणा स्पष्ट गर्न माग गरेको पत्रमा उल्लेख छ।
एमालेले वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने र विगतका कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन हुनुपर्ने पक्षमा आफू दृढ रहेको जनाएको छ। ‘तर संविधानका आधारभूत विषय नै खल्बल्याउने उद्देश्यका साथ कार्यदल अघि बढेको छ’, पत्रमा भनिएको छ ।
सरकारले एमालेले उठाएका प्रश्नहरूको हालसम्म स्पष्ट जवाफ नदिएको भन्दै पार्टीले आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा कार्यदलबाट फिर्ता बोलाउने निर्णय गरेको पोखरेलले जनाएका छन्।





प्रतिक्रिया