एसीसी यू-१९ प्रिमियर कप : नेपालसँग बहराइन पराजित


काठमाण्डु- एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement