नेपालको लज्जास्पद हार


काठमाण्डु- आइसिसी यू–१९ महिला टि २० विश्वकप एसिया छनोट खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । शनिबार भएकाे दोस्रो खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।

जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा विना विकेटको क्षति पूरा गर्न सफल भयो । युएईकी थीर्थ सतिश ४ रन र लवन्य केनी ३ रनमा अविजित रहिन् ।

त्यसअघि  मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियाे ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । त्यस्तै, ओपनर मनिषा राना २ रन, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट हुँदा कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै, इन्धुजा नन्दका कुमारले ३ विकेट र सिमराले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement