टेस्ट क्रिकेट : अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो


काठमाण्डु – अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ ।जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ ।

पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३ रनमा सीमित भएपछि अस्ट्रेलियाले जितका लागि मात्र १० रनको लक्ष्य पाएको थियो । जुन अस्ट्रेलियाले मात्र चार बलमा पूरा गर्‍यो । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले चार बलमा एक चौका र एक छक्का मद्दतमा अविजित १० रन जोडे ।

यसअघि ३१३-८ बाट तेस्रो दिनको खेल सुरुवात गरेको अस्ट्रेलियाले थप आठ रन जोड्दा बाँकी दुई विकेट गुमाएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा श्रीलंकामाथि १०९ रनको अग्रता लिएको थियो ।

श्रीलंका पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो । शुक्रबार दोस्रो इनिङको सुरुआत गरेको श्रीलंका मात्र ११३ रनमा सीमित भयो । ट्राभिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि श्रीलंका सस्तोमा समेटिएको थियो ।

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले २३ तथा ओपनर पाथुम निसंकाले १४ रन जोडे । करुणारत्ने र निसंकाले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यसपछि भने श्रीलंकाका कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । श्रीलंकाले थप ७९ रन जोड्दा बाँकी नौ विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement