युएईसँग नेपालको हार, चल्न सकेनन् ब्याटर


काठमाण्डु – तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल पाहुना टोली युएईसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका लागि अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्नसकेनन् । अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।

कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । युएईका आयन अफ्जल खानले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । बासिल हामिदले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । युएईका जहूर खान, रोहन मुस्तफा र अहमेद राजाले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएकाे थियाे । युएईका लागि अलराउन्डर रोहन मुस्तफाले अर्धशतकिय पारी खेले । उनले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन जोडे ।

ओपनरद्वय मोहम्मद वसीम र वृत्य अरविन्दले क्रमश: ४४ र ४० रनको योगदान गरे । कप्तान सीपी रिजवान २ रनमै आउट भए । अलिशान शराफुले २९, बासिल हमिदले १४, आयान अफजल खानले २६, अहमद रजाले २७, जुनैद सिद्दीकले १ रन बनाए । नेपालका लागि गुलसन झाले दुई विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement