सिङ्गापुरले कुवेतलाई ११४ रनको सामान्य लक्ष्य दियो


काठमाण्डु- राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।

सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सिङ्गापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे । त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए । समूह बी मा रहेको सिङ्गापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोरदै दुईअङ्कका साथ अङ्कतालिकाको चौँथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement