आजको खेलमा मलेसिया विजयी, भोलि फाइनलमा नेपाल र हङकङ भिड्ने


काठमाण्डु – महिला टी–ट्वान्टी सिरिजको समूह चरणको शुक्रवारको खेलमा नेपाललाई हराउँदै मलेसिया विजयी भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो । मलेसिया विरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ । मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले १/१ विकेट लिइन् ।

नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई ८ विकेटले पराजित गरेको थियो ।

शुक्रवारको खेलमा पराजित भए पनि नेपाल फाइनलमा पुगेको छ । ४ देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्नेछन् । फाइनल खेल भोलि शनिवार हुँदैछ ।

समूह चरणका खेल सकिँदासम्म नेपाल, हङकङ र मलेसियाको समान ४–४ अंक भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका छन् । तीनै टोली समूह चरणका २–२ खेलमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement