एसिया कपमा पाकिस्तानसँग नेपाल २३८ रनले पराजित


काठमाण्डु- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यसअघि ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको थियाे।

पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट भएका थिए। उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले। उनले नटआउट रहँदै १०९ रन बनाए। उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए।

नेपालले खेलमा राम्रो सुरुवात गर्दै दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो। फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए।

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए। नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
Advertisement