एसीसी यू–१९ प्रिमियर कप : जापानविरुद्ध जीत निकाल्दै नेपाल फाइनलमा


काठमाण्डु – मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा जापानलाई डीएल मेथडमा पराजित गर्दै नेपाली टोली फाइनलमा प्रवेश गरेको छ ।

जापानविरुद्ध जितेर फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

आज शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतिमा १४४ रनले हराउँदै नेपाल अपराजित रूपमा उपाधि नजिक पुगेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटिएको छ । जापानका २ खेलाडीले मात्र दोहोरो अंकको स्कोर बनाए भने अन्य खेलाडी सस्तैमा समेटिए ।

जापानलाई सस्तैमा रोक्न हेमन्त धामी र दिपेश कंडेलले समान ३/३ विकेट लिए भने सुवास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट लिएका छन् ।

मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेटको क्षतिमा १४० रन बनाएको थियो । २५ ओभरको खेल जारी रहँदा वर्षाका कारण खेल प्रभावित भएपछि ओभर छोट्याइएको थियो । ओभर घटाइएको खेलमा जापानले २२ ओभरमा १८७ रनको नयाँ लक्ष्य पाएको थियो ।

दोस्रो विकेटका लागि दिपक बोहोरा र आकाश त्रिपाठीले ८५ बलमा ९३ रनको साझेदारी गरेका थिए ।

नेपालले अब उपाधिका लागि मंगलबार यूएईसँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै यूएईले फाइनलमा स्थान बनाएको छ । फाइनलमा पुगेका नेपाल र यूएईले एसिया कपमा स्थान पक्का गरेका छन् । तेस्रो स्थानका लागि जापान र सिंगापुर खेल्ने भएका छन् । तेस्रो हुने टीमले पनि एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement