त्रिकोणात्मक टी–२० शृंखलामा यूएईसँग हङकङ ६ विकेटले पराजित


काठमाण्डु – त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत आईतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै हङकङले बनाएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ ।

यूएईको जीतमा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाउँदा खालिद शाहले ३७ रनको योगदान गरे । भित्र्या अर्विन्दले २९, आसिफ खानले १२, अलिसान शर्फुले २०, बसिल हमिदले ११ रन बनाएर यूएईलाई जिताए ।

हङकङका लागि यसिम मुर्ताजाले २ विकेट लिँदा एहसन खान र निजाकत खानले समान १/१ विकेट लिएका छन् ।

पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । खराब सुरूआत गरेको हङकङले पावर प्लेमै २५ रन जोड्दा ३ विकेट गुमाएको थियो । हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए ।

यूएईसँगको हारसँगै हङकङको फाइनल सम्भावना कमजोर बनेको छ । यूएईले सोमबार नेपालसँग खेल्नेछ । खेलमा यूएई विजयी भएमा नेपालसँगको उपाधि भेट पक्का गर्नेछ तर नेपालसँग पराजित भएमा यूएईले हङकङलाई अन्तिम खेलमा हराउनुपर्नेछ । हङकङ नेपालसँग दुइटै खेलमा पराजित भएको थियो । हङकङसँग पराजित भएमा भने नेट रनरेटमा अघि रहने टीमले फाइनलमा स्थान बनाउनेछ ।

यूएई र हङकङबीचको खेल बुधबार भएर शृंखलाको फाइनल प्रतिस्पर्धा शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement