त्रिकोणात्मक टी–२० क्रिकेट : यूएईलाई हराउँदै नेपालको लगातार चौथो जीत


काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलामा नेपालले लगातार चौथो हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा खराब सुरुआतका बाबजुद नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ । नेपाललाई जीत दिलाउने क्रममा आशिफ शेखले ६२ रन बनाए । उनले ५० बल खेलेर ६ चौका र २ छक्का प्रहार गरेका छन् ।

रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४० रन बनाएका छन् ।

१६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरेको थियो । ३ ओभर खेल्दासम्म नेपालका ३ ब्याटर आउट भइसकेका थिए । नेपाली खेलाडी कुशल भुर्तेल १ रनमै आउट भएका थिए । २ रन बनाएको अवस्थामा नेपालको पहिलो विकेट गुमेको थियो ।

१.५ ओभरमा सोमपाल कामी २ रन बनाएर आउट भएका थिए । त्यतिबेला नेपालले ५ रन मात्रै बनाएको थियो । अर्का खेलाडी कुशल मल्ल ० रनमै आउट भए । २.१ ओभरमा ११ रन बनाउँदा नेपालले ३ विकेट गुमाएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

नेपाल, हङकङ र यूएईबीचको टी–२० सिरिजमा नेपालले यसअघि लगातार ३ खेलमा जीत हासिल गरिसकेको छ । नेपाल फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement