यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू–१९ प्रिमियर कपको उपाधि


काठमाण्डु – यूएईलाई १९ रनले हराउँदै नेपालले यू–१९ प्रिमियर कपको उपाधि जितेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६.५ ओभरमा १७८ रन बनाउँदा अलआउट भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो तर वर्षाका कारण खेल प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण भएको थियो ।

निर्धारित लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालको जीतका लागि बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिएका छन् ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकीय मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

प्रिमियर कपको उपाधि विजेता नेपाल र उपविजेता यूएई दुवै यू–१९ एसिया कपका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement