युएईलाई हराउदैँ नेपाल टि-२० विश्वकपमा प्रवेश


काठमाण्डु – नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई हराउदै विश्वकपमा स्थान बनाएको छ ।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई हरादैँ नेपालले आइसीसी टि २० विश्वकपमा स्थान बनाएको हो । यससँगै नेपाल नेपाल २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । युएईले दिएको १३५ रनको लक्ष नेपालले दुई विकेट गुमाउदैँ पुरा गरेको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ६ चौका र २ छक्काको मद्धतमा ६३ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल भने २ चौका प्रहार गर्दै ११ रन बनाएर क्याचआउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सान झाले ३ चौकाको मद्धतमा २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा ३ चौका र १ छक्का हान्दै ३५ रन जोडे ।

युएईका लागि निलांस केसवानी र बासिल हमिदले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे । कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।

यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन बनाए ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement