यू–१९ एसिया कपमा बंगलादेशसँग यूएई ६१ रनले पराजित


काठमाण्डु – एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग यूएई ६१ रनले पराजित भएको छ ।

शनिबार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गरेको छ ।

बंगलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको यूएईले ४७.४ ओभरमा अल आउट हुँदै १६७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि हार्दिक पाइले नटआउट ३० रन बनाएका छन् । त्यसअघि तनिस सुरीले २७, मरूफ मर्चन्टले २५, आर्यान्स शर्माले २२, अक्षत रायले १६, अम्मर बदामीले १४ रनको योगदान गरेका छन् ।

बलिङमा बंगलादेशका महफजुर रहमान रब्बी र पर्वेज रहमान जिबोनले ४/४ विकेट लिए । इक्बाल हुसेन इमोम र चौधुर रिजवानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २२८ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर अशिकर रहमन शिब्लीले सर्वाधिक ७१ रन बनाए । उनले १०२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

अर्का ओपनर जिसन आलमले ५६ बलमा ५ चौका प्रहार गरी ४२ रन बनाए । अरिफुल अश्लामले २२, इक्बाल हुसेनले १८ र कप्तान चौधुर रिजवान र रफी उजमानले १२/१२ रन बनाए ।

बलिङमा यूएईका ध्रुव परासरले ६ विकेट लिए । आयान अफ्जल खानले २ तथा अम्मर बदामी र हार्दिक पाइले १/१ विकेट लिएका छन् । यससँगै यू–१९ एसिया कपमा ४ खेल सकिएका छन् ।

शनिबारै भएको अर्को खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले पराजित गरेको छ ।

शुक्रबार भएको समूह ‘ए’को खेलमा भारत र पाकिस्तान विजयी भएको छ । शुक्रबार भारतले अफगानिस्तान र पाकिस्तानले नेपाललाई पराजित गरेको छ ।

नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छ भने समूह ‘बी’मा श्रीलंका, यूएई, बंगलादेश र जापान छन् । २ समूहका शीर्ष २/२ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल जित्ने २ टीमले पुस १ गते फाइनल खेल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement