घरेलु मैदानमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

घरेलु मैदानमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित


काठमाण्डु- आईसीसी क्रिकेट विश्व कप लिग २ प्रतियोगिताको आइतवारको खेलमा नेदरल्यान्ड्सले नेपाली टोलीलाई पराजित गरेको छ । नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो ।

पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए ।