आयरल्यान्डलाई ६ विकेटले हराउँदै नेपाल विजयी


काठमाण्डु – आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराउँदै टी–२० शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

जीतका लागि आयरल्यान्ड उल्भ्सले दिएको १२२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गरेको छ ।

नेपालका लागि ओपनर बलर कुशल भुर्तेल ३७ रनमा अविजित रहे । उनले ३२ बलको सामान गर्दै ४ चौका प्रहार गरे । सन्दीप जोराले ३६ बलमा ३५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरेका छन् ।

दीपेन्द्रसिंह ऐरीले १२ बलमा २० रन प्रहार गरे भने आशिफ शेखले १६ रन जोडेका छन् ।

बलिङतर्फ आयरल्यान्ड उल्भ्सका गरेथ डेलनी २ र बेन ह्वाइटले १ विकेट लिएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको थियो ।

आयरल्यान्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रन लिए । उनले ३९ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे । फिओन ह्यान्डले ११ रन जोड्नबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement