एसीसी प्रिमियर कपमा हङकङलाई हराउँदै नेपालको तेस्रो जीत


काठमाण्डु – एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेलमा नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ ।

सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल १८–१८ ओभर खेलाइएको थियो ।

हङकङका लागि अन्शुमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २–२ तथा करण केसीले १ विकेट लिएका थिए ।

यस जीतपछि समूह ‘ए’मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा छ । नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ ।

नेपालले अब समूह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement