कतारसँग साउदी हारेपछि नेपाल बन्यो एसीसी प्रिमियर कपको समूह विजेता


काठमाण्डु – एसीसी प्रिमियर कपअन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेसँगै नेपाल प्रतियोगिताको समूह विजेता बनेको छ ।

मंगलबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको छ ।

कतारले दिएको १५४ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले १५ रनले खेल जितेको छ ।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । यस जीतपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समूह ‘ए’मा दोस्रो स्थानमा उक्लिएको छ । साउदी अरेबियाको ३ खेलमा २ अंक रहेको छ ।

समूह ‘ए’ मा यस खेलपछि ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल समूह विजेता बनेको छ । अन्तिम खेलअघि नै नेपाल समूह विजेता बनेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement