साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश


काठमाण्डु – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको समूह चरणका सबै खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज बुधबार साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । ७४ रनको विजयी लक्ष्य नेपालले ७.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको छ ।

खेलमा गुल्सन झाले १९ बलमा ३२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ९ बलमा १७ तथा रोहित पौडेलले ७ बलमा अविजित रहँदै १६ रन बनाएका छन् ।

कुशल मल्ल र आसिफ शेखले समान २–२ रन बनाउँदा कुशल भुर्तेल शून्यमै आउट भए ।

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दा वर्षाका कारण खेल ८ ओभरमा मात्र झारिएकोमा साउदीलाई ७३ रनमा रोकेको थियो । साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो ।

साउदीका अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाएको इनिङ्समा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सबै खेल जितेको नेपाल ८ अंक जोडेर समूह विजेता बनेको छ । रन रेटका आधारमा कतारलाई पछि पार्दै हङकङ ४ अंकसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement