यूएईलाई हराउँदै नेपाली महिला क्रिकेट टीमको जीत

यूएईलाई हराउँदै नेपाली महिला क्रिकेट टीमको जीत


काठमाण्डु – नेपालले एसीसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ ।

श्रीलंकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

जीतका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन् । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । रुबिना क्षेत्रीले १० रन बनाइन् भने सीता रानामगर र पूजा महतोले समान ७/७ रनको योगदान गरे ।

बलिङतर्फ यूएईकी कभिशा इगोडागेले ३ विकेट लिइन् भने लभन्या केनीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । यूएईका लागि खुशी शर्माले ३९ बल २ चौका प्रहार गर्दै ३६ रन बनाइन् । कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन् । रिथिका राजित ६ तथा लावन्या केनी २ रनमा अविजित रहे ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान १/१ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।