प्रथम यू–१६ क्रिकेटमा प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान

प्रथम यू–१६ क्रिकेटमा प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।

लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेश विरुद्धको खेलमा ११७ बलको सामना गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २१७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २४४ रनको बलियो साझेदारी पूरा गरे ।

गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४०४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।

शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १८५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गर्दै प्रतियोगिताकै रौनक बढाए ।

लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रनको थप्दा ४७ रन बोनस स्वरूप प्राप्त भयो ।

गण्डकीका करण गैरेले ३, राज परियारले २ तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले १–१ विकेट लिए । ४०४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो ।

गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किंदा अरु कसैले पनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ द म्याच बनेका रौनकले २ विकेट लिए ।

उता कालुचोक मैदानमा भएको अर्काे खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिँदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएका छन् ।

पहिलो खेलमाझै निकै अनुशासित र किफायति बलिङ गरेका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए ।

१०औं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए । १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए ।

विपिनको जिम्मेवारीपूर्ण बलिङकै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेकोे २ विकेट महत्वपूर्ण रह्यो ।

सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा ५ चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस्तै अविरल विकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । ५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आफ्ना ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो ।

कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए ।

लगातार २ हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।

दोस्रो दिनको खेल सकिँदासम्म १/१ खेल खेलेर समान २/२ अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोस्रो स्थानमा रहँदा दोस्रो खेलबाट खाता खोलेको कर्णाली तेस्रो क्रममा रहेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा कोशी र लुम्बिनी भिड्दा बागमती र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन् ।