आईसीसी विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको जीत

आईसीसी विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको छ ।

खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई लक्ष्यसम्म पुग्न दिएनन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै कमजोर रहेको थियो ।

टोलीले ५० रन नपुग्दै ४ ब्याट्सम्यानलाई गुमाइसकेको थियो । ओपनर कुशल भुर्तेलले २४ रन जोडे पनि आसिफ शेख (७), भीम सार्की (१०) र कप्तान रोहित पौडेल (२) सस्तैमा आउट भए ।

यस्तो संकटपूर्ण घडीमा छैटौँ नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए । उनले ९० बलमा ७५ रनको उत्कृष्ट अर्धशतकीय पाली खेले, जसमा २ छक्का र ५ चौका सामेल थिए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक हो । अन्य ब्याट्सम्यानमा बसिर अहमदले २०, करण केसीले २२ तथा आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडेपछि नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रन बनायो । यूएईका लागि अजय कुमार र जुनैद सिद्धकीले समान ३/३ विकेट लिए ।

२०१ रनको मध्यम लक्ष्य पछ्याएको यूएई पनि ४८.२ ओभरमै १६३ रनमा समेटियो । यूएईको सुरुवात पनि खराब रह्यो र ३९ रनमा ३ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । यूएईका लागि हरप्रित सिंहले ३९, कप्तान मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे पनि जीतका लागि पर्याप्त हुन सकेन ।

नेपालका लागि अनुभवी बलर करण केसीले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ९.२ ओभरमा २ मेडन राख्दै मात्र १९ रन खर्चिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट बाँडे ।

लिग–२ को हालको अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा छ भने यूएई १० अंकका साथ अन्तिम स्थानमा छ । ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३४ अंकका साथ दोस्रो स्थानमा छ । सन् २०२७ को विश्वकप छनोटको आधारका रूपमा रहेको यस प्रतियोगिताको शीर्ष ४ टोली सिधै विश्वकप क्वालिफायरमा पुग्नेछन् भने अन्तिम ४ टोलीले प्लेअफ खेल्नुपर्नेछ । नेपालका लागि १ दिवसीय मान्यता जोगाउन र विश्वकपको सपना जीवित राख्न जीत महत्त्वपूर्ण रहेको छ ।