नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहीबार खेलमा नेपालले इन्डोनेसियामाथि ४ विकेटको जीत निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जीत हात पारेको थियो । बिहीबारको खेलमा इन्डोनेशियाले नेपाललाई जीतका लागि ११४ रनको लक्ष्य दिएको थियो ।

जवाफमा नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ्स खेलिन् । सोनी पाखरिनले २९ तथा सीता रानामगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १३ रन जोडिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाइन् । नि लुह देवीले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले १ विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इन्दु वर्मा प्लेयर अफ द म्याच घोषित भइन् ।