यू–१९ महिला क्रिकेटमा भारतसँग नेपाल पराजित

यू–१९ महिला क्रिकेटमा भारतसँग नेपाल पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला यू–१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ ।

शनिबार सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो ।

नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका लागि बलिङतर्फ मैत्री मनियारले ३ ओभरमा १ मेडनसहित ७ रन दिएर सर्वाधिक ४ विकेट लिइन् । त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५–३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले २, रचना चौधरी र आशिका महराले समान १–१ विकेट लिइन् ।

भारत भ्रमणअन्तर्गत श्रृंखलाको पहिलो खेलमा नेपाली टोली ९ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ । नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यू–१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको छ ।