मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय

मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेसँगै शनिबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेको छ।

दाबी पेस गर्ने समयसीमा आगामी मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मलाई तोकिएको छ।

संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।

यादवले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार राजीनामा दिएका हुन्। उनको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु भएको छ।

प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिए । प्रदेशसभाको दोस्रो कार्यकालमा संसद् बैठकबाटै राजीनामा गर्ने यादव ५औं मुख्यमन्त्री हुन् ।

यसअघि, एमालेका सरोजकुमार यादव (महोत्तरी) ले पनि विश्वासको मत लिने क्रममा राजीनामा गरेका थिए । उनी अघि जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममै राजीनामा दिए ।

सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पदबाट राजीनामा दिएका थिए । यस्तै जसपा नेपालका सरोजकुमार यादव (बारा) ले पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।

विश्वासको मत लिनका लागि सभामुख रामअशिष यादवले शनिबार दिउँसो प्रदेशसभा बैठक आह्वान गरेका थिए ।

सरकारमा सहभागी एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसपछि सरकारमा सहभागी नेकपाका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

प्रदेश सभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनु पर्ने थियो ।

मुख्यमन्त्री यादवले राजीनामा दिएपछि अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गरिसकेका छन्।