काठमाण्डु – भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट जगत्मा सनसनी मच्चाउँदै एकै इनिङ्समा थुप्रै कीर्तिमान तोडेका छन् ।
कतारको दोहामा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्ध उनले मात्र ५२ बलमा दोहोरो शतक पूरा गरेका हुन् ।
वैभव ५३ बलमा २०४ रन बनाएर आउट भए । उनको इनिङ्समा ७ चौका र २८ छक्का समावेश थिए । उनले ३८४.९० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
वैभवले यसक्रममा १ दिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेको दाबी गरिएको छ ।
यसअघि १ दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान न्युजिल्यान्डका मार्टिन गप्टिलको नाममा थियो ।
उनले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध १३७ बलमा दोहोरो शतक बनाएका थिए । भारतका रोहित शर्माले पनि सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध १५६ बलमा दोहोरो शतक पूरा गरेका थिए ।
त्यस्तै वैभवले २८ बलमै शतक पूरा गरे । यसअघि लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतकको कीर्तिमान अस्ट्रेलियाका जेक फ्रेजर म्याकगर्कको नाममा थियो । उनले सन् २०२३ मा दक्षिण अस्ट्रेलियाविरुद्ध २९ बलमा शतक बनाएका थिए ।
वैभवले ४० बलमा १५० रन पूरा गर्दै लिस्ट ए क्रिकेटमा आफ्नै नाममा रहेको तीव्रतम १५० रनको कीर्तिमानसमेत सुधार गरे । यसअघि उनले सन् २०२५ मा बिहारका लागि अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १५० रन बनाएका थिए ।

एकै इनिङ्समा २८ छक्का प्रहार गर्नु पनि उनको अर्को असाधारण उपलब्धि हो । यसले एकदिवसीय क्रिकेटमा एउटै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानको चर्चा पनि चुलिएको छ ।
वैभवको आक्रामक ब्याटिङमा भारत एले यूएईले दिएको २५० रनको लक्ष्य १३ ओभरमै पूरा गर्ने क्रममा २४५ रन बनाएको थियो । भारतले २ विकेट गुमाउँदा वैभव २०४ रनमा आउट भएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो । उसका लागि हरप्रीत सिंह भाटियाले १३० रन बनाए । उनले १२० बलमा १२ चौका र ४ छक्का प्रहार गरेका थिए । भारतका अरशद खानले ४ विकेट लिए ।



प्रतिक्रिया