नेपालले चुम्यो पहिलो एकदिवसीय सिरिज, रच्याे इतिहास


काठमाडाैं– पहिलो एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले इतिहास रचेकाे छ।

कप्तान पारश खड्काकाे शतकमा नेपालले युएईविरुद्धकाे तीन एक दिवसीय क्रिकेटकाे श्रृंखला २-१ ले जितेकाे हाे।

सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएकाे नेपालले ६ विकेट गुमाउँदै ४४.४ ओभरमा लक्ष्य भेट्टाएकाे हाे ।

यसअघि नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले १/१ को बराबरी खेलेको थियो ।

पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का हान्दै १ सय १५ रन बनाए । पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ९६ बलमा १३ चौका र १ छक्का हाने । पारसले यसअघि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका थिए । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि २ शतक पूरा गरिसकेका छन् ।

नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१, अर्का ओपनर बसन्त भण्डारीले १७ बलमा ९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा सन्दिप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २४ बलमा १६ रन बनाए।

अन्तिममा क्रिजमा रहेका सोमपाल कामी र आरिफ शेखले क्रमशः २६ र २१ रन बनाएका थिए। युएईका लागि सुरुमा ब्याटिङ गरेको युएईले पछिल्ला ओभरहरूमा अत्यन्तै आक्रमक ब्याटिङ गरेको थियो।

नेपालका लागि करण केसी र पारस खड्काले समान २-२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement