नेपाल भारतसँग २३ रनले पराजित


काठमाण्डु – चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

मंगलबार बिहान झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले राम्रो सुरुवात गरेको थियो । दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

कुशल मल्लले २ चाैका र २ छक्कामा २९ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए । करण केसी १८ रन बनाउँदै नटआउट रहे । रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भए ।

भारतका लागि रवि बिश्नोई र आवेश खानले ३/३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा गएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । हारसँगै नेपाल क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement