राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवासलाई नियुक्त गरेको छ । क्यानले राष्ट्रिय टोलीको क्लोज क्याम्पका लागि श्रीनिवासलाई फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको हो ।

उनी आइतबार भारतबाट काठमाण्डु आइसकेका छन् । यसअघि उनले अमेरिकी क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षक भएर काम गरेका थिए । उनी फिल्डिङ प्रशिक्षक हुँदा नेपाली टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकी टोलीको मुख्य प्रशिक्षक थिए ।

नेपालले अर्को महीना आईसीसी टी(२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दै छ । ग्लोबल क्वालिफायर ५ फागुनदेखि ओमनमा हुनेछ । त्यसअघि टी–२० श्रृंखला खेल्दै छ । २८ माघदेखि ओमनमै हुने श्रृंखलामा चार देशले प्रतिस्पर्धा गर्नेछन । दुवै प्रतियोगिताको तयारीका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।