सीटीईभीटीको नाममा अनाधिकृत सीप प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

सीटीईभीटीको नाममा अनाधिकृत सीप प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीटीईभीटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो ।

विशेषगरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो ।

अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन र शर्तहरूको गम्भीर उल्लंघन गरेको समेत देखिएको छ । सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सीटीईभीटी) लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ । संस्थाले अनुमति लिँदा तोकिएका विधाहरूभन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ ।

अनुगमन टोलीले संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले उपलब्ध गराएका कागजातको अध्ययन अनुसन्धानपश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ ।