दैलेखमा ५० वर्षलाई पुग्ने ग्यास भण्डारण रहेको पुष्टि

दैलेखमा ५० वर्षलाई पुग्ने ग्यास भण्डारण रहेको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यास भण्डार रहेको प्रारम्भिक पुष्टि भएको छ ।

नेपाल र चीनले दैलेखको जलजलेमा संयुक्त रूपमा गरेकोे पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको जनाउँदै प्रारम्भिक रिपोर्ट पनि दिएको छ ।

यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।

नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन ४ वटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनिएको थियो ।

प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पु¥याउने आशा गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिका सचिव कृष्ण बहादुर राउतले बताए ।

सचिव राउतका अनुसार चीन सरकारले अध्ययन गरेको प्रारम्भिक प्रतिवेदन आइसकेको छ । र त्यहाँ ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको भन्ने पुष्टि भएको जनाइएको छ । अहिले पाइएको प्रातृकति ग्यास मिथेन हो ।

दैलेखकै अन्य तीन स्थानमा पनि मिथेन ग्यासको भएको पनि प्रतिवेदनमा उल्लेख छ । ४ वटा भण्डारणबाट ग्यास प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० वर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

दैलेखका विभिन्न ४ वटा स्थानमा करिब ४३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने मन्त्रालयले गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

चीनबाट अहिले प्रारम्भिक प्रतिवेदन मात्र आएकाले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन आउने छ । अन्तिम प्रतिवेदन आएपछि डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण गर्ने सरकारले तयारी थालेको छ ।

केपी ओली प्रधानमन्त्री भएको बेला सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएको थियो ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले भने, ‘जलजले क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो ।’ उनका अनुसार ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ
दैलेखको जमिनले आफैँबाट बल्ने ग्यास र तेल जस्तै पदार्थ चुहिने दृश्य स्थानीयका लागि नयाँ होइन । तर, वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो ।

२०७५ माघमा नेपाल–चीन बीच पेट्रोलियम अन्वेषणका लागि हस्ताक्षर भएपछि अन्वषण थालिएको हो ।

प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छ–सात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान रहेको छ ।