काठमाण्डु – दलित समुदायमाथि उत्पीडन बढ्दै गएकाले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले बताएका छन् ।
आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए ।
आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।
सदियौंदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा संघर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्य सत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधार लगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने जानकारी दिए ।
सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले २१औं शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा बर्सिनु दुर्भाग्य भएको बताए ।
देशमा भएको लामो संघर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ । यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ, आयोजकलाई शुभकामना !’
गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नी शिखा) ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनका लागि काठमाण्डु आउने क्रम जारी रहेको जानकारी दिँदै सम्मेलन दलित मुक्तिको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिए ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले ७ दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ सालको संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिकी र नविन आन्दोलनको आवश्यकता रहेको बताए ।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास लिए ।
अर्का सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अभियान चलाए पनि खासै फरक नपरेकाले गोलमेचबाट नयाँ निकास निस्किने बताइन् ।
मूल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापक रूपले दलित समुदायमाथि अन्याय भइरहेको र हालसालै दलितको घरलाई डोजर चलाएर विस्थापित गरिएको बताए ।
प्रतिक्रिया