दलित भन्दै पत्रकारलाई काठमाडौंमा कोठा नदिएपछि….


काठमाडौं- दलित भन्दै दुई पत्रकारलाई घर मालिकले कोठा नदिएको घटना सार्वजनिक भएको छ । इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई थापागाउँनिवासी श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको मंगलबार जानकारी दिइयो ।

पत्रकार विश्कर्माले भने, ‘सुरुमा दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौं । भाडास्वरुप अग्रिम दुई हजार ५०० दिएका थियौं । पछि सर्ने दिनमा अरू नै कोठामा बसिसकेका रहेछन् । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै दुर्व्यवहार गरे ।’

कोठा भाडा बापत आफूहरुले बैना दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताउँदै धम्क्याएको विश्वकर्माको भनाइ छ ।

पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर लिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गरेका छन् । रासस

तस्वीरः गुगलबाट

प्रतिक्रिया दिनुहोस
Advertisement