आयोजक दमकलाई हराउँदै आर्मी सेमिफाइनलमा


दमक- आयोजक दमक–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लब दमकमा जारी दमक गोल्डकप फूटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजकलाई ६–० ले फराकिलो गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुग्न सफल भएको हो ।

स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीका नवयुग श्रेष्ठले छैठौँ मिनेटमै गोल गर्नुभएको थियो । दोस्रो गोल खेलको २० औं मिनेटमा कप्तान भरत खवास, २२ औं मिनेटमा पुनः नवयुगले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्नुभएको थियो । ५३ औं मिनेटमा आर्मीका लागि विमल पाण्डेले चौथो गोल गरे ।

त्यस्तै, ६८ औं मिनेटमा जर्ज प्रिन्स कार्की र ८५ औं मिनेटमा नवयुगले टिमका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । आर्मीले मनाङ मस्याङदी क्लब र सरस्वती क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । खेलमा विजेता आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

गोल्डकपको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख प्राप्त गर्नेछ । गोल्डकपमा आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच क्वार्टरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement