काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् ।
नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ । यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ । सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ ।’
भारतको उदाहरण दिँदै उनले भने, ‘नेपालभन्दा कैयौ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना पर्याप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने हाम्रो देशको हावापानी हेर्दा एकैदिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ । यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन । त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ । सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।’
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको उनले बताए । मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहे पनि त्यो अझै पूरा हुन सकेको छैन ।
‘हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ‘तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ । पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन् र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।’
हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया