सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह

सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिएका छन् ।

नेपाल जेसिजद्वारा काठमाण्डुमा आयोजित ‘क्रिएटिभ योङ इन्ट्रप्रेन्योर (सीवाईई) र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५’ मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए ।

उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । उनले भने, ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखि २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौं भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भएका छन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ ।’

उनले नविनतम सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदरमा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए ।

गत वर्ष बैंकको जागिर छाडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेको बताए । उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएको बताए ।

उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको उनले बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे ।

उनले भने, ‘युवाको सिर्जनशीलता र दृढ संकल्पले हाम्रो अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ । यसका लागि हामीले ‘युवा उद्यमशीलता तथा रोजगार कोष’, ‘स्टार्टअप फन्ड’ र ‘इनोभेसन ग्रान्ट’ जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौं ।’

उनले विश्वमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता नवीनतम प्रविधिहरूले व्यापार र उद्योग क्षेत्रमा आमूल परिवर्तन ल्याइरहेको बताए । उनले भने, ‘यस्तो परिवर्तनशील परिवेशमा, हामीले हाम्रा युवा उद्यमीहरूलाई नवीनतम प्रविधि र व्यावसायिक मोडेलहरूसँग परिचित गराउनुपर्छ । उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताले सुसज्जित बनाउनुपर्छ । यसका लागि सरकारी निकाय, निजी क्षेत्र र जेसिज जस्ता संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको छ ।’

उनले आफ्नो मन्त्रालय युवा उद्यमीहरूलाई प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारमा सहयोग पुर्‍याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले ‘मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने हाम्रो रणनीति रहेको बताए ।