काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा निरन्तरको वर्षाका कारण उत्पन्न परिस्थितिको सामना गरी राहत तथा उद्धारमा खटिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रभावित क्षेत्रका व्यक्तिहरूलाई संयमित भई सुरक्षित रहन र राहत तथा उद्धारमा तदारुकता देखाउन सम्बन्धित सरकारी निकाय र संघसंस्थाहरूलाई आग्रह गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार अझै १ दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपद्को समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गर्दछु ।’
सुदूपश्चिम प्रदेशअन्तर्गत डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–८ की १४ वर्षीया प्रतिमा धामी र डोटी जिल्लाको केआईसिंह गाउँपालिका–४ की ८ वर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै ३ जना घाइते र केही पशुचौपाया समेत मरेको घटनाले दुःखित तुल्याएको उनले जनाएका छन् ।
कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलाली जिल्लाका १४६ परिवारका ५४७ जना विस्थापित भएका छन् भने कञ्चनपुरको दोधाराचादँनी, पुनर्वास र भीमदत्त नगरपालिकाका ८३ परिवारका २४६ जना विस्थापित भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–११ बगलेखानमा ४ घर जोखिममा परेका छन् । भीमदत्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र केआईसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित बनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपका कारण बेपत्ता भएकाहरूको तदारुकताका साथ खोजीमा लाग्न र विपद्का कारण भएको क्षतिको यकिन विवरण संकलन गरी उद्धार तथा राहतलाई निरन्तरता दिन तथा त्यस्ता घटना सम्भावित क्षेत्रको लागि तयारीमा रहन नेपाल सरकारका सम्बन्धित निकाय एंव यस क्षेत्रमा कार्यरत सबै संघसंस्थाहरूलाई आग्रह गर्दछु ।’
प्रतिक्रिया