सबै मन्त्रीहरूले हप्तामा २ दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गर्छाैं : मन्त्री भण्डारी


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा २ दिन स्वदेशमा उत्पादित पोशाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले नेपाली पोशाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरूले गर्ने बताए ।

वर्तमान सरकार स्वदेशी उत्पादन बढाउने ध्येयका साथ लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘हप्तामा २ दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदैछौं, पहिला सबै मन्त्री, त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन् ।’

उनले नेपाली बजारमा स्वदेशी उत्पादनको क्षमता अध्ययन गरी सोहीअनुसार बजार वृद्धि गरेर राज्यका हरेक निकायमा स्वदेशी पोशाक लगाउन अनिवार्य गरिने बताए । ‘नेपाली उद्योगले दिन सक्छन् कि सक्दैनन् पहिला विस्तृत रूपमा उत्पादनको अवस्था अध्ययन गरेर त्यसपछि उत्पादनमा प्रोत्साहन गरिने छ,’ उनले भने ।

नेपाली बजारमा निर्यातभन्दा आयात उच्च रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार निर्यात प्रवद्र्धनमा केन्द्रित हुने बताए । सरकारको मुख्य अहिलेको ध्येय जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्ने रहेको उनको भनाइ थियो ।

सरकारले अघि सारेको उत्पादन वृद्धिका लागि ‘स्टार्ट अप’ नीति कार्यक्रमलाई केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी गराए ।

‘प्रधानमन्त्री नेपाली उत्पादन कार्यक्रम’ आगामी आर्थिक वर्षबाट प्रभावकारी बनाउने गरी अर्को मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित गरेर नेपालका स्वदेशी वस्तु उत्पादनमा अभिप्ररित गर्ने अगाडि बढाइने उनले जानकारी गराए । नेपाली वस्तुले बजार नपाएको सन्दर्भ उल्लेख गर्दै उनले उद्योग मन्त्रालयबाट निर्यातमुखी व्यवसाय सञ्चालनका लागि आवश्यक तालिम तथा सीपको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement