रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

नेपाल रानाथारु युवा समाजले पहिलोपटक आज काठमाण्डुमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए ।

कैलाली र कञ्चनपुरमा रगत पसिना बगाउँदै आएको तथा २ जिल्लाको बस्ती विकास र सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट थारु समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै उनले व्यावसायिक रूपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिंगो देशले देख्ने गरी काठमाण्डुमा होली मिलन कार्यक्रम गरेकोमा उनले प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्व मन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम राना लगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका विषय औंल्याएका थिए ।

होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाट कलाकार टोली काठमाण्डु आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement