गाउँगाउँमा रहेका लघु उद्यमीलाई महासंघमा समेट्न मन्त्री भण्डारीको आग्रह


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रामीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघमा समेट्न आग्रह गरेका छन् ।

उनको सम्मानमा महासंघद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उनीहरूले विभिन्न सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन मद्दत पुग्ने बताए । उनले महासंघमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गरे ।

मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने उल्लेख गरे । महिलालाई उद्यमशीलतामा जोड्न सके त्यस्ता उद्यमले दीगोपना ल्याउने उनको भनाइ छ ।

सो अवसरमा महासंघले मन्त्री भण्डारीसमक्ष विभिन्न २४ वटा माग समेत राखेको छ । महासंघले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीहरूलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड पीडित उद्यमीलाई दिइँदै आएको पुनर्कर्जा कार्यक्रमलाई यथावत् राख्न मन्त्रीसमक्ष माग राखेको छ ।

आगामी बजेटमार्फत ७५३ वटै पालिकाले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकामा २० प्रतिशत बजेट विनियोजन गर्न माग गरिएको छ । महासंघले छरिएर रहेका लघु, घरेलु उद्योगले विशेष प्रकारका वस्तु तर अत्यन्तै सानो परिणाममा उत्पादन गर्ने हुँदा त्यस्ता उत्पादनलाई एउटा साझा ब्राण्डमा उत्पादन गर्न माग गरेको छ । त्यस्ता उत्पादनलाई बजारमा पठाउने व्यवस्थाका लागि साझा सामूहिक चिह्नमार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग महासंघले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement