जापानबाट फर्केर व्यावसायिक कालिजपालन गर्दै घर्ती दम्पती


गलकोट – कोरोना संकट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर र मनकुमारी घर्ती दम्पतीले भने लाखौं लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन्। ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्। लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरू गरेका हुन्।

पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनीहरूको भनाइ छ। ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगायौं। सोचेजस्तो विदेशमा कहाँ हुन्छ र? विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र भन्ने सोचले आफ्नै गाउँमै अर्गानिक कृषि तथा पशुपंक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेका छौं,’ ललितले भने, ‘आफ्नै गाउँठाउँमा केही गरौं भनेर श्रीमतीसहित जापानबाट फर्किएको हुँ।’

घर्ती दम्पतीका दुई छोरा र एक छोरी छन्। उनीहरूलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको ललितले बताए। जापानमा आफ्नै गाउँ जस्तै ठाउँमा ठूलाठूला कृषि फार्म सञ्चालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भएपछि नेपाल फर्किएको उनको भनाइ छ। उनीहरूले पुर्ख्यौली खेतबारीमा कालिजपालन थालेका हुन्।

अहिले ५० लाख लगानी गरेर कालिज पालेको र थप ५० लाखको लगानी गरी गाउँमै जडीबुटीको नर्सरी, रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिन तयारी गरिरहेको उनले बताए। यसरी उनीहरूले यो व्यवसायमा एक करोड लगानी गरेका छन्। डेढ वर्षदेखि तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्न तयार भएको र अण्डा पार्नसमेत थालेको पनि उनले जानकारी दिए।

ताराखोला अर्गानिक कृषि उत्पादन र पशुपंक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ हो। यहाँ विभिन्न खालका जडीबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ। यसलाई अझ व्यवस्थित तवरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतीको योजना छ।विशेषतः कालिजपालनसँगै ताराखोलामा होमस्टेसमेत सञ्चालन गर्ने योजना बनाएको ललितले बताए।

‘सतुवाको माग अहिले धेरै छ। सतुवा समुद्री सतहदेखि दुई हजार दुई सयदेखि दुई हजार तीन सयको उचाइमा हुने जडीबुटी हो। यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नर्सरी गर्ने योजना पनि छ,’ उनले भने, ‘ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच छ। यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना हो।’

ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्यस्थल मुस्ताङमा समेत पुर्‍याउने सोच उनीहरूको छ।

‘अहिलेसम्म पालिकाले कुनै सहयोग गरेको छैन। सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन,’ उनले भने, ‘पालिकाका कृषि प्रमुखले हामीहरूले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुनेछ। कृषि र पशुपंक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ।’

अहिले ताराखोलाको आलु, बेसार, घीउ, भाँगोहरू बागलुङमा मात्र नभएर अन्य जिल्लामा पनि बिक्री गरिरहेको उनले बताए। ताराखोला गाउँपालिकाले ताराखोलामा उत्पादन गरेका कुरालाई प्राथमिकतामा राख्नुपर्ने घर्ती दम्पतीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement