दिपक मनाङेलाई पक्राउ गरेर कानुनअनुसार कारबाही गर्छौंः एसपी कार्की


पोखरा – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भएको छ ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेका थिए । मंगलबार मनाङेबाट तीन झापट खाएका उनले कुटपिट तथा अभद्र व्यबहार भएको भन्दै कास्की प्रहरीमा बुधबार दिउँसो जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अभद्र व्यबहार तथा कुटपिट’ मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले भोली (बिहिवार) जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउ अनुमति लिएर प्रदेश सभा सांसद गुरुङलाई पक्राउ गर्ने तयारी गरेको छ ।

‘आज कार्यालय बन्द हुने समयमा जाहेरी प्राप्त भयो, कागजी प्रक्रिया पूरा गर्दा पक्राउ अनुमति लिन भ्याइएन । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कार्कीले भने, ‘भोलि (बिहिवार) सिडिओ कार्यालयबाट पक्राउ अनुमति लिएर पक्राउ गर्छौं ।’

पक्राउ गर्नुपर्ने दीपक मनाङे भन्ने राजिब गुरुङ प्रदेश सभा सांसद भएको र प्रदेश सभा चलिरहेकोले भोलि (बिहिवार) नै प्रदेश सभाका सभामुखलाई जानकारी दिएर पक्राउ गरिने एसपी कार्कीले बताए । अपराध गर्ने मान्छे जुनसुकै पद तथा ओहदाको भएपनी अपराध नियन्त्रण, कानुन कार्यान्वयन र दण्डहिनताको अन्त्यका लागि प्रहरीले कोहि कसैसँग सम्झौता नगर्ने एसपी कार्कीको भनाइ छ । उनले भने, ‘अपराधमा ठुलो सानो भन्ने हुँदैन, कसुरको मात्रा हेरेर कानुनअनुसार कारबाही हुन्छ ।’

लेखनाथको भण्डारी ढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मुक्का प्रहार गरेका थिए ।

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हानेकोले आफू असुरक्षित भएको भन्दै कानुनी कारबाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement